काठमाडौं, बैशाख १२ । अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरसले उत्पन्न गराएको संकटका कारण दीगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपिएको बताएका छन्।
विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एसियाली राष्ट्रहरूका सरकार प्रमुख तथा उच्चपदस्थ पदाधिकारीसँगको छलफलमा उनले कोभिड–१९ ले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताए। उनले भने, ‘‘हामीले विगत तीन दशक देखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाउदै लगेको र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको छ।’’
उनले सबैले अप्रत्याशित र अनपेक्षित स्वास्थ्य जोखिमको सामना गरिरहेको उल्लेख गर्दै कोभिड–१९ जस्ता अज्ञात शत्रुको सामना गर्न नसकेसम्म सुरक्षा क्षेत्रमा भईरहेको बढ्दो खर्चले अर्थ नराख्ने बताए। सार्वजनिक स्रोत मानव कल्याणमा पुनर्प्राथिमिकीकरण र केन्द्रीत गर्नुपर्ने उनले बताए।
कोभिड–१९ ले हालसम्म पुर्याएको तथा थप पुर्याउन सक्ने आर्थिक क्षतिको पुनस्र्थापना सरकार, अन्तर्राष्ट्रिय संघ–संस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने उनले बताए। विश्वव्यापी संकटको समाधान गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव हुने भन्दै हालको संकटको सामना गर्न तीनवटा सुझाव अगाडि सारे। सीमा नाकामा हुने मानिसहरूको आवातजावत नियन्त्रण तथा आप्रवासी कामदारहरूका लागि आधारभूत सुविधा उपलब्ध गराउन क्रस बोर्डर र अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्ने, स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सुनिश्चितता प्रदान गर्ने, एवं ऋण स्थगन र ऋण मोचनका माध्यमबाट कम आयस्रोत भएका मुलुकहरूको वित्तीय क्षमता बढाउने।
स्वास्थ्य क्षेत्र र संक्रमित रोगका विषयमा अनुसन्धान बढाउँदै जाने सन्दर्भमा न्यून आय भएका मुलुकहरूमा बढिरहेको असंक्रमित रोगको चुनौती र प्रविधि हस्तान्तरणको समस्यालाई नजरअन्दाज गर्न नसकिने उनले बताए।
भिडियोमार्फत गरिएको छलफलमा बंगलादेशका प्रधानमन्त्री सेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेन्ड, विश्व स्वास्थ्य संगठनका दक्षिण–पूर्व एसिया निर्देशक पुनम खेत्रापल सिंहलगायत अन्य सहभागीले कोभिड–१९को संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्नेमा जोड दिएका थिए।


























