जनकपुरधाम, बैशाख १२ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण जनकपुर–जयनगर रेलमार्गको कारम रोकिएको छ।
चालू आर्थिक वर्षभित्रै सञ्चालनमा आउने भनिएको जनकपुर–जयनगर रेल सञ्चालन नेपाल र भारत दुवैै मुलुकमा लकडाउन भएपछि रोकिएको हो।
कोरोना भाइरसका कारण तत्काल नेपालले खरिद गरेको रेल ल्याउन सकिने स्थिति नभएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।
रेल कुद्नका लागि रेलमार्ग पनि निर्माण भारतले गरिदिएको छ भने नेपालले भारतको कोंकोण कम्पनीबाट रेलको इन्जिन, बग्गीलगायत खरिद गरिसकेको छ।
रेल विभागले आवस्यक जनशक्ति भर्नाको व्यवस्था मिलाउँदै गर्दा लकडाउन शुरु भएको हो। नेपालमा रेल चलाउने प्राविधिक नभएका कारण अन्यमूलुकका कर्मचारी पनि राख्न सरकारले बाटो खोलिदिएको थियो।
महानिर्देशक मिश्रका अनुसार कर्मचारी छनोट, उनीहरूको तालिम प्रक्रिया सञ्चालनको जिम्मालगायतका काम रोकिएकोले अब फेरी भर्ना छनोटको काम शून्यदेखि शुरु गर्नुपर्छ।
‘अब हामीले फेरि हाम्रो तयारी शून्यबाट सुरु गर्नुपर्नेछ, रेल ल्याउन समय लाग्छ, कोरोना भाइरसको असर कति पर्छ, त्यसमा निर्भर रहन्छ,’ मिश्रले भने।
रेलसेवा सञ्चालनका लागि सरकारले सरकारी स्वामित्वमा रहेको नेपाल रेल्वे कम्पनीलाई जिम्मेवारी दिएको छ।


























