दाङ, बेशाख १२ । देउखुरी जिल्ला अदालतले बिहीबारदेखि भिडियो कन्फरेन्सका माध्यमबाट थुनुवाको म्याद थप शुरु गरेको छ।
डिभिजन वन कार्यालय दाङले वन्यजन्तुको अवैध चोरीशिकार काममा पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरिएका चार जनाको भिडिओ कन्फरेन्सबाट म्याद थप गरेको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए।
वन कार्यालयको थुनुवा कक्षमा रहेका आरोपितसँग न्यायाधीश भीमलाल बेल्बासेले पालैपालो भिडियोमा घटनाको विषयमा सोधपुछ गरी सात दिनको म्याद थप गरेको पनि श्रेष्तेदार गिरीले जानकारी दिए। उनका अनुसार अदालतले आवश्यकता अनुसार यही विधिबाट पुनः म्याद थप गर्न सक्ने छ।
वन पैदावार चोरी तस्करीमा संलग्न रहेकाहरुलाई पटकपटक गरी बढीमा २५ दिन र वन्यजन्तु अपराधमा संलग्न भएकाहरुलाई पटकपटक गरी बढीमा ४५ दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न सकिने कानूनी व्यवस्था छ।
यसअघि लकडाउनका समयमा अनुसन्धानका लागि थुनामा रहेका व्यक्तिलाई म्याद थपका लागि अदालतमा पेश गर्दा कोरोना भाइरस परीक्षणको रिपोर्ट माग गरिएको थियो।
वन कार्यालयले लकडाउनका अवधिमा १३ घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ। सो अवधिमा चारचार ट्राक्टर र मोटरसाइकल, दुई थान बन्दूक, गोलीबारुद, गुलेली र मटे्ङ्ग्रा बरामद गरिएको बताइएको छ। रासस


























