काठमाडौं, बैशाख १२ । कोरोना भाइरसबाट बच्न लगाइएको लकडाउनका कारण चैत महिनामा सुन आयातमा भारी गिरावट आएको छ। भन्सार बिभागको तथ्यांकअनुसार चैत महिनामा १५० केजी मात्रा सुन आयात भएको छ।
लकडाउनका कारण अहिले नेपाली सुनचाँदी बजार पनि ठप्प छन्। यसरी कारोबार नै नभए बैंकहरुले सुन आयातमा कटौती गरेको बताइएको छ। नेपालमा सुन आयात गर्न पाउने अधिकार बाणिज्य बैंकहरुलाई मात्र छ।
रकमका आधारमा चैतमा ८९ करोडको मात्र सुन आयात भएको छ। अघिल्लो फागुन महिनामा भने ३ अर्ब ५३ करोडको सुन आयात भएको थियो।
सामान्य अवस्थामा नेपालमा मासिक औषतमा ३ अर्ब भन्दा बढीको सुन आायत हुन्छ। तर, विविध कारणबस अहिले विश्वभर नै सुनको मुल्य चालुको सुरुदेखि नै सुन आयातमा गिरावट आएको छ।
नेपालमा अन्तरराष्ट्रिय बजार अनुसार नै सुनको मुल्य निर्धारण हुन्छ। यसरी सुनको मुल्य बढेपछि नेपालमा गत साउनदेखि नै सुनको कारोबार सन्तोषजनक छैन। त्यसपछि सुनचाँदी व्यवसायीहरुको सुझावमा नै चालु आवको बैंकहरुले सुन आयात कटौती गर्दै आएका छन्।
भन्सार बिभागका अनुसार चालु आवको चैत मसान्तसम्म भने २४०० केजी सुन आयात भएको छ। रकमका आधारमा त्यो १३ अर्ब ४६ करोड बराबरको सुन हो । गत आवमा भने ३४ अर्ब ६३ करोडको सुन आयात भएको थियो।
साथै, सुन आयात आगमी दिनमा अझै घट्न सक्ने बताइएको छ। नेपालले डलर अर्थात विदेशी मुद्रा तिरेर सुन आयात गर्नुपर्ने हुन्छ। तर, कोरोना भाइरसका कारण रेमिट्यान्स लगायतका माध्यमबाट हुने विदेशी मुद्रा आर्जन घट्ने देखिएको छ। फलस्वरुप विदेशी मुद्रा सञ्चितीमा पर्ने असरलाई दृष्टिगत गर्दै सरकारले सुन आयातको कोटा दैनिक १० केजी मात्र तोकेको छ। पहिला दैनिक २० केजी सुन आयात गर्न पाइन्थ्यो। जसअनुसार अझै सुन आयात घट्ने बताइएको छ।
कुन महिनामा कतिको सुन आयात
भदौ – रु ३ करोड
असोज – रु ३ करोड
कात्तिकमा – रु २६६ करोड
मंसिरमा – रु ४०७ करोड
पौष – रु १०९ करोड
माघ – रु ११६ करोड
फागुन – रु ३५३ करोड
चैतमा – रु ८९ करोड
स्रोतः भन्सार बिभाग


























