साँझपख एक अन्जान व्यक्ति उनको घरमा आएर बास माग्छ।
यो घर कसको अनेक तरहको ग्यरु कमरो धरी
घामका ज्योति नि तिरीमिरी भए, बास देउन मलाई पनि
उनी घरमा एक्लै छिन्। ससुरा बुबा स्वर्गीय भएसँगै सासु पनि सति गइन्। जेठाजु भोट गएका छन्। घरभन्दा धेरै टाढा छ गोठ। गाँमवेशीका पाई थियो। देवर वस्तु लिएर गोठमा बस्थे। श्रीमान् परदेश गएको पनि धेरै भएको थियो। यस्तोमा अपरिचितलाई कसरी बास दिनु?
ससुरा बाबा पनि स्वर्गीय हुनुभयो सासु गइन् सतीमा
जेठाजु भोटमा देवर गोठमा स्वामी सधैं परदेशी
साँझमा आउने पाहुना देउता समान हुन्छ भन्छन्। खाना यतै खानुस्। म एक्लै छु बास बस्न अर्काको घर जानुस् भनेर उनले भनिन्। आइमाइ मात्र भएको घरमा लोग्ने मान्छेलाई बास दिन मिल्दैन।
भान्छाको तारबार म गरिदिउँला बास माग्नु तल्लो घर
काहाँबाट आयौ तिमी नाम के हो, के पर्यो नि थर
मुस्कुराँदै ढाकाटोपीमा सजिएको उक्त व्यक्ति मनमनै त्यहीँ बस्ने भन्दै छ। किनकी उनी परिचित छिन् उसका लागि। भन्छन् –
बाहिर त खुटुवा भित्र त टिपुवा सक्कली ढाकाटोपी
अहिले त जन्नी बास छैन भन्छ्यौ भरे त तिम्रै खौपी
त्यस व्यक्तिले सबै बेलिबिस्तार लगाएपछि बल्ल उनले चिनिन् कि उनी त आफ्नै श्रीमान् पो रहेछन्। भाँडाकुटी खेलेजस्तै गरी पाँच वर्षकै उमेरमा उनीहरूको बिहे भएको थियो। बिहे गर्ने बित्तिकै श्रीमान् परदेश गएका थिए। उनले आफ्नै श्रीमानलाई पनि चिन्ने मौका पाएकी थिइनन्। सासु–ससुराको मृत्युपछि त उनी एक्ली जस्ती भइन्। एक्लै घरगृहस्थी धान्न उनलाई निकै धौ–धौ भयो। मौकामा गुनासो राख्नै पर्यो –
लाएका बस्त्र पनि फाटी गयो धन छैन क्याल्य किनूँ
पाँचै वर्षीय विवाह गरि छोड्नुभयो स्वामी भनी के चिनूँ
श्रीमान् हुन् भनेर चिनिसकेपछि उनी आफ्ना थप दुःख सुखका कुरा सुनाउन थालिन् –
अर्कैले पनि दलन मलन गर्यो अर्कैले अंगी खोल्यो
अर्कैले पनि रसपान लियो उही पो धनी भयो।
श्रीमान् सोध्छन् –
कसुले दलन मलन गर्यो कसुले अंगी खोल्यो
कसुले मुखरस लियो कहु पो धनी भयो।
फाटेको चोली उनले फेर्न पाएकी छैनन्। घरका खाटखटियाले पनि काम दिन छोडिसकेका छन्। बडो दुःखका साथ जीवन कटाएकी छिन् उनले। जवाफ दिन्छिन् –
खाटखटियाले दलन मलन गर्यो चोलीले अंगी खोल्यो
पान सुपारीले मुख रस लियो उही पो धनी भयो।
त्यो रात उनीहरूको सुखदुःखको कुरा गरेरै बित्यो।
यो उबेलाको कथा हो, जुनबेला चिठीको पनि चलन थिएन। इन्टरनेट त कैयौँ टाढा, कल्पनाभन्दा निकै पर। अहिले त हामीलाई धेरै सजिलो बनाएको छ प्रविधिको तीव्र विकासले। हातहातमा मोवाइल छ। इन्टरनेटको माध्यमबाट आफ्ना आफन्तसँगै अनुहार हेरीहेरी मज्जाले बात मार्न पाइन्छ। कहाँ के भइरहेको छ भनेर सेकेन्ड–सेकेन्डमै देश विदेशका सूचना पाउँछौ, मानौं इन्टरनेट नै हाम्रो गुरू बनेको छ।
तर, त्यतिबेला अहिलेजस्तो रेडियो, टिभी, हातहातमा मोवाइल कल्पनाभन्दा बाहिरको कुरा। त्यसैले आफ्नै श्रीमान् चिन्न पनि समय लाग्यो उनलाई। किनकि वर्षौँसम्म श्रीमानकाे दर्शन नपाएपछि चिनून् पनि कसरी ?
अहिले देश लकडाउनमा छ। तर, त्यतिबेलाको जस्तो अभाव र समस्या अहिले छैन। हुन त त्यतिबेलाको परिस्थिति नै त्यस्तै थियो। वर्षौँसम्म आफ्नो श्रीमानको अनुहार देख्न नपाउँदा पनि इन्टरनेट भए, मोवाइल भए दिनमा कति पटक कुरा गथ्र्यौँ भनेर कल्पनासम्म पनि गर्न सकिने अवस्था थिएन। तर, अहिले हामी इन्टरनेटको पहुँचमा छौँ, प्रविधिको पहुँचमा छौँ। त्यसैले उनलाई जस्तै तड्पिएर बस्नुपर्ने बाध्यता छैन अहिले।
देशमा लकडाउन जारी रहेकै कारण कतिपय मानिसहरू बाहिर निस्कन नपाएर अत्तालिएका छन्। प्रविधिले फड्को मारिसकेकोले प्रविधिको भरपुर प्रयोग गरौँ, सही सदुपयोग गरौँ। किनकि यो समय बाहिर डुल्ने समय हैन। किनकि बाहिर कोही सुरक्षित छैन। अस्तिसम्म एउटा मात्रै रहेको संक्रमितको संख्या अहिले एक्कासी बढेर ४५ पुगेको छ।
विश्व हल्लाइरहेको कोरोना भाइरसले नेपालमा पनि पाइला टेकिसकेकोले कोरोना भाइरसको पाइला हाम्रो घरभित्र टेक्न नदिन हामी नै बाहिर नजाऔँ न। काेराेनालाई पराजित गर्न सबै जना सुरक्षित साथ घरमै बसौँ, इन्टरनेटको सही सदुपयोग गरौँ। आफू बचौँ र अरूलाई पनि बचाऔँ।


























