चितवन, बैशाख ८ । शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ।
जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको लगत सङ्कलन गर्ने निर्णय गरिएको हो।
कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा परेको असिना पानी र हावाहुरीले मकै, तरकारी र केरामा क्षति पुगेको छ। क्षतिको कृषि ज्ञानकेन्द्र भरतपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र स्थानीय तहहरुसँग समन्वय गरेर विवरण लिई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित निकायमा पठाइने भएको छ। बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले हावाहुरी र असिनाका कारण पूर्वी चितवनका कृषकले ठूलो नोक्सान व्यहोर्नु परेको भन्दै राहतका लागि आवश्यक पहल थाल्नुपर्ने बताए।
कृषि ज्ञान केन्द्रको सिफारिसमा साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानले मल बीउ वितरण गर्न आग्रह गर्दै अहिलेका बालीलाई आवश्यक पर्ने मल बीउ व्यवस्थापन गर्न उनले आग्रह गरे। सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मल, बीउ, औजार र कृषिजन्य उत्पादनको ढुवानीमा रोक नलगाइएको तर भीडभाड गर्न नहुने बताए। कृषि ज्ञान केन्द्रको सिफारिसमा कृषिजन्य उत्पादन र बजारीकरणमा सहजीकरण गर्न प्रशासन सकारात्मक रहेको उनले बताए।
सो अवसरमा कृषिज्ञान केन्द्रका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिना, साल्ट ट्रेडिङ लिमिटेडका चितवन प्रमुख बुद्धिविनोद दाहाल र कृषि सामग्री केन्द्र चितवनका प्रमुख रवीन्द्र गौतमले कृषि उत्पादन, बजारीकरण र मल बीउको अहिलेको अवस्थाको बारेमा जानकारी गराएका थिए। रासस


























