बैशाख ८ । लकडाउनको विरोधमा अमेरिकाका विभिन्न क्षेत्रमा प्रदर्शन जारी रहेको छ। प्रदर्शनकारीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै तत्काल खुलाउन गभर्नरहरुसँग माग गरेका छन्।
एरिजोना, कोलोराडो, मोन्टाना र वासिङ्गटन राज्यमा लकडाउनको विरोधमा आइतबार प्रदर्शन भएका छन्। यसअघि अरु आधा दर्जन राज्यमा पनि प्रदर्शन भएका थिए।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम रहे पनि लगातारको प्रदर्शनले लकडाउन खुकुलो पार्न गभर्नरहरुमाथि दबाब बढ्दै गएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेका छन्। त्यसपछि प्रदर्शन थप बिस्तार भएको हो। गभर्नरहरुले लकडाउन केही खुकुलो बनाउने विषयमा छलफल सुरु गरेका छन्।
जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ। यस्तै संक्रमितको संख्या पनि सात लाख ५९ हजार भन्दा बढी पुगेको छ।
सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क राज्यको राजधानी न्यूयोर्क सिटीमा १४ हजार ४५१ जनाको ज्यान गइसकेको छ। अमेरिकामा हालसम्म ३८ लाख ६५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण भएको छ।
विश्वभर हालसम्म एक लाख ६५ हजार भन्दा बढीको ज्यान गइसकेको छ। यस्तै विश्वभर संक्रममित हुनेको संख्या पनि २४ लाख भन्दा बढी पुगेको छ।


























