काठमाडौं, बैशाख ५ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको जिम्मेवारीबाट सरकार विमुख भएको तरुण दलले आरोप लगाएको छ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति मार्फत सरकार आफनो जिम्मेवारीबाट विमुख र अनावश्यक गतिविधिमा रुमल्लिरहेको भान भएको उल्लेख गरेका छन्। भूमिहीन आयोग गठन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आफना कार्यकर्तालाई जागिर दिन आयोग गठन गरेको उनले आरोप लगाए।
लकडाउनका समयमा दैनिक ज्यालादारी गर्ने मजदुर वर्गका पक्षमा तरुण दलले आवाज उठाएपनि सरकारले ध्यान पुर्याउन नसकेको जनाए। ‘मजदुरहरुलाई खान, बस्न समस्या भई केही हिँडेरै आफनो घर पुगेका छन्‚ केही बाटोमा अलपत्र परेका छन् भने केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य छन्।’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन तरुण दल जोड्दार माग गर्दछ।’
तरुण दलको जिल्ला कार्यसमितिलाई हिंडेर गन्तव्यमा गइरहेका मजदुरलाई सहयोग गर्न निर्देशन दिइएको छ।


























