वीरगञ्ज, बैशाख ५ । सरकारी अनुदानमा खरिद गरिएको मल लकडाउनको मौकामा बढी मूल्यमा बेच्ने बारा कोल्हवी नगरपालिकाका एक कृषि सहकारीका सञ्चालक बिहीबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ कोल्हवी बजार बस्ने शम्भु साह रहेका छन्।
साहले कृषि सामग्री कम्पनी लिमिटेड कलैया तथा साल्ट ट्रेडिङ्ग वीरगञ्जबाट ७ सयमा युरिया मल खरिद गरी ९ सयमा बिक्री गरेका थिए। बढी मूल्यमा मल बिक्री गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो साहलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
प्रहरीले साहले संचालन गरेको श्री लक्ष्मी बहुमुखी सहकारी संस्थाको गोदाममा शिलबन्दी गरेको छ। साथै गोदाममा स्टोर गरी राखिएको युरिया मल १ सय ८१ बोरा, कृषक पोटास ८३ बोरा, एल्मुनियम सल्फेट मल ६० बोरा र फोष्फेट मल ७८ बोरा जफत गरेको छ।
पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको मिश्रले बताए।


























