चितवन । लकडाउन भएपछि पैदलै घर हिँडेका यात्रुहरूलाई खाना खुवाउँदै आएको नेपाली युवा उद्यमी मञ्च चितवनले बुधबारदेखि नारायणगढको पुलचोकमा ‘स्वचालित स्यानिटाइजिङ च्याम्बर’ राखेको छ। खाना मात्र नभई उनीहरुको स्वास्थ्यमा समेत समस्या नआओस् भनेर च्याम्बर राखिएको मञ्चका अध्यक्ष दाताराम घिमिरेले जानकारी दिए। उनका अनुसार एकपटकमा ४ जनालाई एकसाथ स्यानिटाइज गर्न मिल्छ।
‘स्वीच दबाएपछि एकपटकमा चारजनालाई १० सेकेन्डभित्र फुलबडी स्यानिटाइज गर्न मिल्छ,’ उनले भने, ‘यो च्याम्बर सार्वजनिकरुपमा आमजनताको लागि नेपालमै पहिलो पटक प्रयोगमा आएको हो।’ दुईसय लिटर क्षमताकाे पानी ट्याङ्कीमा स्यानीटाइजर राखिएकाे छ। मञ्चले चाैबीस घण्टामा याे च्याम्बर तयार पारेकाे हाे। याे मेसिनबाट प्रयाेग हुने स्यानीटाइजरले एकपटककाे प्रयाेगबाट पाँचघण्टासम्म सुरक्षित रहन सक्ने बताइएकाे छ।
मञ्चले गरेकाे कामप्रति चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले खुसी व्यक्त गरे। ‘जिल्ला प्रवेश गर्ने मुखैमा मेसिन राखेपछि पैदल यात्रा गरेर चितवन प्रवेश गरेका सबैलाई अनिबार्य याे मेसिनमा प्रवेश गराएर मात्रै जिल्ला आउन दिनुपर्छ, किनकि बाहिरबाट बाेकेर आएकाे किटाणु मराेस् र चितवनमा स्वस्थ शरीर मात्र प्रवेश गराेस् याे हाम्राे चाहना हाे,’ उनले भने।
मञ्चले यसअघि नै सुरु गरेको खाना खुवाउने कार्यक्रम पनि निकै प्रभावकारी बनेको छ। हालसम्म करिब तीन हजार यात्रीलाई खाना खुवाइसकिएको उनले बताए। लकडाउनको समयभर यो अभियान चलिरहने उनले बताए।


























