बैशाख ३ । क्रिस्टियानो रोनाल्डोले आफ्नो देशको ‘एमेच्योर’ फुटबललाई सहयोग गरेका छन्।
रोनाल्डो सहित पोर्चुगलका राष्ट्रिय टिमका सदस्यले आफ्नो देशको एमेच्योर फुटबललाई सहयोग गरेका हुन्। उनीहरुले युरोकपमा छनोट भएपछि प्राप्त गरेको बोनसको आधा रकम आफ्नो देशको युवा फुटबलमा सहयोग गरेका हुन्।
पोर्चुगल फुटबल महासंघले सहयोग रकम एक कोषमा राखिने जनाएको छ। र पोर्चुगलको राष्ट्रिय टिमका सदस्यको सहयोगबाट सो रकम करिब ५ मिलियन युरो पुग्नेछ। यसले पोर्चुगलको एमेच्योर फुटबल क्लबलाई आर्थिक सहायता मिल्ने महासंघले विश्वास लिएको छ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट युरोपभरका फुटबल क्लबले आर्थिक संकट ब्यहोरेका छन्।
पोर्चुगलले पछिल्लो हप्ता स्थगित बनेको एमेच्योर सिजनलाई रद्ध गर्ने घोषणा गरेको थियो।
पोर्चुगल गत संस्करणको युरो च्याम्पियन हो। कोरोनाका कारण युरो कप एक बर्ष पछाडी धकेलिएको छ।
यसअघि कोरोनाकै कारण आर्थिक संकटमा परेको युभेन्ट्सलाई सहयोग गर्न भन्दै रोनाल्डोले चार महिनाको तलब छाड्न राजी भएका थिए। सो निर्णयबाट उनले करिब १० मिलियन युरो गुमाउनेछन्।
लगत्तै उनले पोर्चुगलका तीन अस्पतालमा भेन्डिलेटर दान दिनुका साथै कोरोनाबिरुद्ध लड्न ठुलो आर्थिक सहयोग गरेका थिए। एजेन्सी


























