काठमाडौं, चैत्र ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश संगठन कमिटीले कोरोना भाइरस संक्रमण र त्यसपछि भएको लकडाउनका कारण सिमानामा रोकिएका नेपालीहरुलाई स्वदेश आउने अनुकुल वातावरण बनाई उनीहरुलाई क्वारेन्टाइन र आइसोलेशनमा राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
संगठनका अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले एक वक्तव्य जारी गर्दै नेपाल सरकारले हालसम्म गरेका प्रयत्नहरु प्रभावकारी देखिएपनि सरकारले अझ गम्भीर हुँदै स्वास्थ्य उपचारको दायरा फराकिलो बनाएर परीक्षणको लागि ल्याब विस्तार गर्नआग्रह गरेका छन्। त्यस्तै वक्तव्यमा लकडाउनका कारण सिमानामा रोकिएका नेपालीहरुलाई स्वदेश आउने अनुकुल वातावरण बनाई उचित जनशक्तिका साथ क्वारेन्टाइन र आइसोलेशनमा राख्ने व्यवस्था गर्न ढिला नगर्न पनि माग गरिएको छ।
त्यस्तै कोरोना माहामारी र लकडाउनका समयमा कालोबजारी, तस्करी, भ्रष्टाचार भएको सुनिएकाले स्वास्थ्य सामग्री अभाव हुन नदिन र कही कतै भ्रष्टाचार भए कानुन अनुसार कारवाही अगाडि बढाउन समेत प्रदेश कमिटीले माग गरेको छ।
प्रदेश कमिटीले यस घडीमा सरकारलाई आफ्नो स्रोत साधनको पहुँच बढाउँदै संक्रमण रोक्न र जनताको नियमित जीवनका आधारभूत सेवा प्रदान गर्न आह्वान गर्दै सम्पूर्ण पार्टी नेतृत्वलाई केन्द्रिय सचिवालयको कोरोना नियन्त्रण सम्बन्धी परिपत्र र प्रदेशको परिपत्रलाई कार्यान्वयन गर्न निर्देशन गरेको छ।


























