काठमाडौं, चैत्र ३० । आइतवार नेपालका सबै बैंकका शाखा कार्यालयहरु सबै खुला रहने भएका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको आज अन्तिम दिन भएका कारण बैंकहरुले सबै शाखा कार्यालयहरु खुला राखेको नेपाल बैंकर्स संघले जनाएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना र त्यसबाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण बैंकको काम सुचारु रहेपनि सबै शाखाहरु भने सञ्चालनमा थिएनन्।
लकडाउनका बेला पनि बैंकले आलोपालो कुनै न कुनै शाखाबाट सेवा प्रदान गरिरहेका थिए। साथै आज भने सबै कार्यालय खुला रहेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिएका छन्।
आइतवार २०७६ सालको अन्तिम दिन समेत रहेको छ। सोमवारबाट अर्को साल शुरु हुने तथा आवको तेस्रो त्रैयसमाका सम्पूर्ण हिसाबकिता (क्लोजिङ) का कामहरु गर्नै पर्ने भएका कारण बैंकहरुले सबै शाखा खोलेको हुन्।
नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण अप्ठेरोमा परेको भन्दै चैतमा तिर्नु पर्ने ऋण असारमा तिरे हुने गरी सहुलियत प्याकेज घोषणा गरेको छ। साथै चैतमै तिरेको अवस्थामा भने ऋणिले ब्याजमा १० प्रतिशत छुट पाउने भएका छन्।
राष्ट्र बैंंकले घोषणा गरेको प्याकेज अनुसार ब्याजमा १० प्रतिशत छुट लिनका लागि आज अन्तिम दिन रहेको पनि बैंकर्स संघले जनाएको छ।


























