काठमाडौं, चैत्र २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको पैसा कोरोना कोषमा रकमान्तर गर्न सुझाव दिएका छन्। माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै उनले पहिलेदेखि नै सांसद विकास कोष आवश्यक नै नभएकाले अहिलेका सन्दर्भमा रकमान्तर गर्न उपयुक्त हुने विकल्प सुझाएका हुन्।
कोरोना सङ्क्रमण रोक्न सरकारले खडा गरेको कोषमा प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब दाखिला गरेका छन्। नेकपाका सांसदहरूले आधा महिनाको तलब जम्मा गरेका छन्। प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरूले पनि योगदान गर्ने क्रम जारी छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एकमुष्ठ ५० लाख रुपैयाँ जम्मा गरिसकेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि दुई करोड रुपैयाँ योगदान गर्ने बताइसकेको छन्। श्रेष्ठले सांसद विकास कोषमार्फत् सांसदहरूले परिचालन गर्न पाउने ६ करोड रुपैयाँ पनि त्यसैमा हाल्न उपयुक्त हुने निष्कर्ष निकालेका हुन्।
“मैले पहिले देखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ। अहिले कोभिड– १९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला) कोभिड–१९ कोषमा राखौं र अबदेखि यो शीर्षकमा बजेट नराखौं। यो सही छ। निर्णय गरिहालौं,” उनले ट्विट गरेका छन्।


























