नवलपरासी, चैत्र २९ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का क्वारेन्टाइनमा बसेका ५५ जना १४ दिनपछि घर फर्केका छन्। जिल्लामा बाँकी रहेका १४० जना अहिले पनि क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
जिल्लाका सात स्थानीय तहमा कुल १४ स्थानमा ३१६ शय्याका क्वारेन्टाइन छन्। यसबाहेक पृथ्वी चन्द्र अस्पताल, शहीद स्मृति सामुदायिक अस्पताल, चिसापानी अस्पताल र नेपाली सेना कालीध्वज गणमा आइसोलेशनको समेत व्यवस्थापन गरिएको छ। जिल्लामा रहेका विभिन्न क्वारेन्टाइन र आइसोलेशन वार्डमा ११५ मात्र गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) छन्।
जिल्लाका विभिन्न क्वारेन्टाइनमा १४ दिनसम्म निरन्तर बसेका २० जनालाई कोरोना संक्रमण भए वा नभएको पत्ता लगाउन रेपिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण शुरु गरिएको छ। परीक्षण गरिएकामध्ये २० जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए। रासस


























