काठमाडौं, चैत्र २८ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा अहिलेसम्म दुई हजार आठ सय ९५ को नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उपत्यकामा दुई हजार तीन सय ८२ र उपत्यकाबाहिर पाँच सय १३ नमुना परीक्षण भएको जानकारी दिए। उनका अनुसार एक सय ९३ नमुनाको परीक्षण जारी रहेको छ।
नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण पुष्टि भएकोमा एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ आएको छ।
धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा त्यसमध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
उनका अनुसार काठमाडौं उपत्यकाका क्वारेन्टाइन स्थलमा रहेकाहरुको पनि कोभिड–१९ को संक्रमण भए नभएको परीक्षण गर्ने तयारी भइरहेको छ।


























