पर्सा, चैत्र २७ । कोभिड–१९ को संक्रमण रोक्न नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ। दक्षीणी सीमा खुला सीमा भएपनि जुन देशका नागरिक जता छन त्यतै क्वारेन्टाइनमा राख्ने दुई देशीय सहमती अनुरुप नेपाल र भारत दुबै तर्फ दुबै देशका नागरिकहरु क्वारेन्टाइनमा राखिएका छन्।
तर नेपालका एक जना बहालवाला सांसद सरकारी निर्णयको उल्लघंन गर्दै नागरिक भेट्ने नाममा भारत पुगेका छन्। सरकारी निर्णयको अवज्ञा गर्ने समाजवादी पार्टीको तर्फबाट पर्सा क्षेत्र नं १ वाट निर्वाचित सांसद प्रदीप यादव भारत गएका हुन्। सीमापारि रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा २५ जना बसेका छन्। त्यस मध्य १५ जना नेपाली नागरिक छन्। उनीहरुलाइ भेट्न भन्दै सांसद यादव भारत पुगेको र त्यहाँ रहेका नागरीकलाई भेटेर फर्किएका हुन्।
यो बिषय थाहा पाएपछि गृह मन्त्रालयले सांसद यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो। क्वारेन्टाइनमा खाने बस्ने सुविधा उपलब्ध गराइएको हुन्छ, नेपाल तर्फ रहेका भारतीय नागरिकलाई पनि त्यो सुविधा उपलब्ध छ। यति हुँदा पनि सांसद किन भारत गएको भन्दै आलोचना भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले पनि सांसद यादव र यादवसँग गएका अन्यलाई घरमा नै क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन्।


























