चितवन, चैत्र २७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनका कारण समस्यामा परेका विपन्न र ज्यालादारी मजदुरलाई राहत वितरण गरेको फोटो, भिडियो नखिच्न र प्रचार नगर्न आग्रह गरेको छ। तर स्थानीय सरकारहरुले त्यसको बेवास्ता गरेका छन्। राहत वितरणको सस्तो प्रचारबाजीले जनमानसमा राम्रो सन्देश नजानेतर्फ स्थानीय तहहरुको ध्यानाकर्षण गराए पनि स्थानीय सरकारहरुले यसको ख्याल गरेको पाइँदैन।
माथिको फोटोमा मुखमा पहेलो मास्क, जरीकोट र प्याजी रंगको सर्ट लगाएर राहत बाँडेको तस्बिरमा देखिन्छन्, चितवनको रत्ननगर नगरपालिका प्रमुख नारायण वन। मेयर वनले बुधबार नगरपालिकामा ज्याला मजदुरी गरेर जीविका चलाउने र विपन्न नागरिकलाई राहत बाँडे। नगरपालिकाले नगरका १६ वटा वडामा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका अति विपन्नलाई परिवार संख्याका आधारमा पाँच किलो देखि २५ किलो चमल, एक किलो दाल, एक लिटर तेल, एक किलो नुन र हात धुने साबुन वितरण गर्ने निर्णय गरेको छ।
नगरपालिकाले बुधबार वडा नं ३ र १४ का अति विपन्न परिवारलाई पनि राहत वितरण गरेको जनाएको छ। नगर प्रमुख वनले तस्बिर नखिच्ने र प्रचार नगर्ने भन्दाभन्दै सार्वजनिक भएको बताए। अबदेखि तस्बिर नखिच्ने र प्रचार नगर्ने उनले प्रतिवद्धता जनाएका छन्।


























