चितवन, चैत्र २७ । रत्ननगर नगरपालिकाको वडा नं. ११ मा रहेका २६८ परिवारलाई वडाले राहत दिने भएको छ। कोरोना भाइरसको जोखिमलाई रोक्न सरकारले ‘लकडाउन’ गरेपछि ज्याला मजदुरी गरेर घर चलाउँदै आएका विपन्न परिवार प्रभावित भएपछि वडा सदस्य कुलबहादुर गुरूङको संयोजकत्वमा विवरण संकलन गरेको थियो। सोहीअनुसार वडाभित्रका २६८ घर परिवार प्रभावित रहेको पाइएकोले ती परिवारलाई वडाले आज बिहीबारदेखि राहत वितरण थालेको हो। वडा सचिव लीलानाथ अर्यालको अनुसार पहिलो चरणमा १६० परिवारलाई बिहीबार राहत वितरण गरेको छ।
वडा सदस्यको संयोजकत्वमा संकलन गरेको विवरणलाई वडा अध्यक्ष शशीभक्त न्यौपाने र राजनैतिक दलका प्रतिनिधिहरूले वडाभित्रका टोलविकास संस्थामार्फत छानबिन गरेर २६८ घर परिवार बढी प्रभावित भएको निष्कर्ष निकालेको हो। परिवारको सदस्य संख्याको आधारमा राहत उपलब्ध गराएको वडाले जनाएको छ। दुई जनाको परिवारका लागि १५ किलो, चार जनाको परिवारलाई २० किलो र सोभन्दा माथिको परिवारलाई २५ किलो चामल वितरण गरिएको वडा सचिव अर्यालले बताए। दाल दुई किलो, नुन एक पोका र खाने तेल आधा लिटर चाहिँ सबैलाई समान वितरण गरिएको उनको भनाइ छ।


























