– विनोद अनुज
चितवन, चैत्र २७ । ज्वरो आएका बिरामी गेटमा पुग्ने बित्तिकै कोरोनाकै सङ्क्रमित जस्तो गरी गेटबाटै फर्काइएका घटना हामीले विभिन्न सञ्चारमाध्यममा देख्न, सुन्न, पढ्न पाउँछौँ। निजी अस्पतालले सहज रूपमा ज्वरोका बिरामी लिन मानिरहेका छैनन्। अहिलेको मौसम ज्वरो र रुघाखोकीको पनि समय हो। विगतका वर्षहरूलाई हेर्ने हो भने यतिबेला मौसमी ज्वरोका बिरामीले अस्पताल भरिने समय भएपनि अहिले मानिसहरू घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन्। उच्च ज्वरो आएका बिरामी भने जसोतसो अस्पताल पुगेका छन्।
तर, चितवनको भरतपुर सेन्ट्रल अस्पतालले भने इमर्जेन्सीमा आएका कुनै पनि बिरामीलाई फिर्ता नपठाएको दाबी गरेको छ।
विश्व नै कोरोना भाइरससँगको युद्धमा होमिदै गर्दा स्वास्थ्यकर्मी सबैभन्दा उच्च जोखिममा छन्। भाइरसको संक्रमण फैलिन नदिन सरकारले देश नै लकडाउन गरेपछि अस्पतालहरूले पनि अत्यावश्यक बिरामीबाहेकका सेवा तत्कालको लागि बन्द गरेका छन्। हिजो सामान्य समस्या देखिए पनि अस्पताल आउनू भनेर बोलाउने अस्पतालले अहिले अत्यावश्यक नपरेसम्म अस्पताल नआउनू भनेको छ। लकडाउनको पूर्ण पालना गर्दै एकद्वार प्रणालीमार्फत ‘इमर्जेन्सी’मात्रै खुला गरेर सेवा दिइरहेका छन्।
यस्तोमा भरतपुर सेन्ट्रल अस्पतालले पनि एकद्वार प्रणालीमार्फत नै सेवा दिइरहेको जनाएको हो। ‘केही अस्पताल वा चिकित्सकले केही कमजोरी गरे होलान् तर यसले देशैभरका निजी अस्पताललाई बदनाम बनाएको छ,’ अस्पतालका कार्यकारी निर्देशक शोभाखर घिमिरेले भने, ‘तर, भरतपुर सेन्ट्रल अस्पताल क्षमताको हिसाबले सानो भए पनि हामीले दिनसक्ने सबै सुविधा दिइरहेका छौँ।’

अस्पतालले लकडाउन हुनुपूर्व नै हेल्थ डेस्क सञ्चालन गरेको थियो, जुन अहिले पनि जारी छ। यो सँगै देशमा कोरोनाको चर्चा शुरू भएदेखि नै यहाँ फिबर (ज्वरो) क्लिनिक पनि चलाइएको अस्पतालको दाबी छ।
साथै गत सोमबारदेखि होलबडी स्यानेटाइजेसनको व्यवस्था पनि गरिएको अस्पतालका कार्यकारी निर्देशक घिमीरेले बताएका छन्। शुरूशुरूमा हातमा मात्रै स्यानिटाइजर लगाउने गर्यौँ,’ उनले भने, ‘तर, भाइरस संक्रमित नै अस्पताल आयो भने त हातमा मात्रै भाइरस हुँदैन, शरीरका अन्य भागमा पनि हुन सक्छ भनेर हामीले स्प्रेमार्फत टाउकोदेखि पैतालासम्म अस्पताल प्रबेश गर्ने सबै सेवाग्राहीलाई स्यानिटाइजर छर्केर मात्रै भित्र प्रवेश गराएका छौँ।’ (अस्पतालमा रिपोर्टिङ्गको लागि पुगेको म स्वयम्लाई पनि यसरी स्यानिटाइजेसन गरिएको थियो। हेर्नुहोस् तलको तस्बिर)


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डलाई आधार मानेर अस्पतालले सेवा दिइरहेको उनले बताए।
५५ शैय्या क्षमताको अस्पतालले सोमबारदेखि पाँच शैय्याको आइसोलेसन कक्षसमेत स्थापना गरेर कोरोना भाइरसको रोकथामबारे पूर्व तयारी गरेको छ। ‘भोलि भरतपुर अस्पताल र कोरोना अस्पतालले मात्रै धान्न नसक्ने गरी बिरामीको संख्या बढ्यो भने ती अस्पताललाई सहयोग गर्ने हाम्रो पनि दायित्व हो, त्यसैले हामीले अहिले नै आइसोलेसन वार्डको व्यवस्था मिलाएका हौँ,’ उनले भने।

वि.सं. २०७१ सालबाट सेवा सुरू गरेको सेन्ट्रल अस्पतालमा हाल दुई वटा भेन्टिलेटरसहित ६ वटा सघन उपचार कक्ष (आइसियू) राखिएको छ भने प्राविधिक र अप्राविधिक गरी करिब एकसय जना कर्मचारी अस्पतालमा कार्यरत छन्। लकडाउनको समयमा स्वास्थ्य सेवामा थप गम्भीर बन्नुपर्ने हुँदा चिकित्सक तथा कर्मचारीलाई कम्तिमा चारदिनसम्मको शिफ्ट चलाएर अस्पतालमै खाने र बस्ने व्यवस्था मिलाइएको उनले बताए।
कोरोना भाइरसको संक्रमण फैलिँदै गएमा अस्पतालले आफ्नो तर्फबाट पूर्व तयारी गरिसकिएको उनको भनाइ छ। ‘अहिलेदेखि नै तयारी गरेमा पछि हुन सक्ने जोखिमलाई समयमै कम गर्न सकिन्छ’, उनले भने, ‘तसर्थ हामीले अस्पताल र चिकित्सकको लागि चाहिने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) लगायतका सबै सामग्रीको तयारी गरेका छौँ।’ अहिले अस्पतालमा सेवा लिइरहेका बिरामीको स्वास्थ्यलाई पनि ध्यानमा राख्दै सुरक्षित रही उपचार गराइरहेको उनले बताए।
देशले तेस्रो चरणको लकडाउनको सामना गर्दैगर्दा स्वास्थ्यसम्बन्धी केही समस्या भए अस्पतालले सहजरूपमा उपचार सेवा दिने जनाएको छ।


























