चितवन, चैत्र २६ । चितवनको रत्ननगर नगरपालिकाले औपचारिक रुपमा बुधवार देखि राहत वितरण सुरु गरेको छ।
कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अति विपन्न बर्गलाई राहत वितरण सुरु गरिएको मेयर नारायण वनले जानकारी दिए। राहत वितरण पूर्व सो नगरपालिकाले ज्याला मजदुरी गरेर जिविका चलाउने अति विपन्नहरुको विवरण संकलन गरेको थियो। सो नगरपालिकामा रहेका १६ वटा वडाका ज्याला मजदुरी गरेर पारिवार पाल्दै आएका अति विपन्न परिवारलाई राहत वितरण गरिने मेयर नारायण वनले बताए।
परिवार संख्याका आधारमा पाँच किलो देखि २५ किलो चामल,एक किलो दाल,एक लिटर तेल,एक किलो नुन र हात धुने साबुन वितरण गर्ने निर्णय नगरपालिकाले गरेको थियो । रत्ननगर नगरपालिका वडा नं ३ मा मेयर वनले राहत हस्तान्तरण गरी वितरणको औपचारिक सुरुवात गरेका थिए।
बुधवार नै वडा नं १४ का अति विपन्न परिवारलाई पनि राहत वितरण गरिएको छ। राहत वितरणको औपचारिक सुरुवातसंगै आगामी दिनमा अन्य वडाहरुमा पनि राहत वितरण गरिने छ। सो नगरपालिकाले राहत वितरणमा एकद्धार प्रणाली अबम्वन गरेको छ।
नगरभित्रका ज्याला मजदुरी गरेर जिविका चलाउने परिवारले स्थानीय सरकारले नै राहत वितरण गर्ने गरी एकद्धार प्रणाली लागु गरिएको मेयर नारायण वनले बताए। सामाजिक संघसंस्थाहरुले राहत वितरण गर्दा एउटै परिवारले पटक पटक पाउने र कसैले पाउदै नपाउने विगतले देखाएको भन्दै मेयर वनले नदोहोरिउन र कोही नछुटिउन भन्नका लागि एकद्धार प्रणाली अबम्बन गरिएको हो।
नगरपालिकाले राहत वितरणमा एकद्धार प्रणाली लागु गरेपछि निजी क्षेत्र र सामाजिक संघसंस्थाहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरिरहेका छन्। सो नगरपालिकाको कार्यपालिका बैठकले राहत वितरणका लागि प्रत्येक वडालाई तीन तीन लाख रुपैया प्रदान गर्ने निर्णय गरेको उपमेयर विमला दुवाडीले जानकारी दिइन्।


























