बुटवल, चैत्र २६ । कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न भनेको छ। तर, प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको हो।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिए।
रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो।
महामारीको समयमा प्रसूति, काजक्रिया र बिरामी बिदा बाहेक अन्य बिदा नपाउने मन्त्रालयले बताएको छ। यी चिकित्सकले जानकारी नै नदिइ बिदा बसेको अस्पतालले जनाएको छ।


























