सुर्खेत, चैत्र २४ । कैलालीको गौरीफन्टा नाकाबाट कर्णाली आएका नागरिकहरुलाई प्रहरीले खोज्न थालेको छ। गौरीफन्टामा भएका एक युवामा कोरोना संक्रमण देखिएपछि कर्णाली आएकालाई प्रहरीले खोज्न थालेको हो।
गौरीफन्टा नाकाबाट कर्णाली आएकामध्ये सबैभन्दा बढी सुर्खेतका नागरिक छन्। रोजगारीका लागि भारत गएका उनीहरु चैत्र ११ गते नेपाल भारत सीमाको कैलालीस्थित गौरीफन्टा नाकाबाट नेपाल आएका थिए।
तिनीहरुमध्ये सुर्खेतका ४०, कालिकोटका १६, सल्यान र रुकुमका एक–एक जना छन्। सुर्खेतको लेकवेंसी नगरपालिकाका १५, चौकुनेका १०, वीरेन्द्रनगरका ८, गुर्भाकोटका ५ र सिम्ताका २ जना छन्। जिल्ला प्रशासन कार्यालय सुर्खेतले कैलालीसँग समन्वय गरेर सुर्खेत आएका सबैजनाको विवरण मागेर गाउँगाउँमा प्रहरी परिचालन गरिएको जनाएको छ।
गौरीफन्टा नाकाबाट गुर्भाकोट नगरपालिका प्रवेश गरेका पाँच जनालाई क्वारेन्टाइनमा राखेको मेयर हस्त पुनले जानकारी दिए। हालसम्म सम्पर्कमा नआएपछि पालिकाहरुको समन्वयमा प्रहरी परिचालन गरी खोज्न थालिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए।
‘गौरीफन्टा नाकाबाट सुर्खेत आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राख्नका लागि प्रहरी परिचालन गरिएको छ,’ खड्काले भने, ‘उनीहरुको पहिचान गरी क्वारेन्टाइनमा राखिनेछ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले सुर्खेत आएका ४१ जनाकै खोजी गरिरहेको जनाए।