काठमाडौं, चैत्र २४ । कोरोनाका कारण एक महिनायता नेपाली फिल्मका सम्पूर्ण गतिविधि ठप्प भएपछि फिल्ममा ज्याला मजदुरी गर्ने प्राविधिकहरुलाई बिहान बेलुकाको छाक टार्नै धौधौ परेको छ। प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई सहयोग गर्न अपिल गरेपछि अहिले विभिन्न सेलिब्रटीहरुबाट सहयोग रकम जुटिरहेको छ।
अभिनेत्री पुजा शर्माले २ लाख बराबरको खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुलाई सहयोग गर्न लागेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् । त्यस्तै, अभिनेत्री वर्षा राउतबाट ५१ हजार सहयोग रकम प्राप्त भएको पनि उनले बताए। बिहान बेलुकाको छाक टार्नै समस्या हुने प्राविधिकहरुलाई सहयोगका लागि प्राविधिक संघले विपन्नता व्यवस्थापन कोष समेत खडा गरेको छ।
आइतवारबाट प्राविधिकहरुको घरमै राहत सामाग्री पुर्याउने तयारी गरिएको अध्यक्ष लामाले जानकारी दिए। प्राविधिकलाई ३ हजार रुपैयाँ बराबरको राहत प्याकेज स्वरुप एक बोरा चामल, दाल, खाने तेल, नुनजस्ता अत्यावश्यक खाद्यन्न सामाग्री प्रदान गरिने उनले बताए। संघमा आबद्ध १३ सय सदस्यमध्ये आइतबार र सोमबार गरि तीन सय जनालाई राहत वितरण गरिँदैछ।


























