काठमाडौं, चैत्र २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको जनाएका छन्। कोरोना भाइरस विरुद्ध प्रयोग हुने पीपीईलगायतका स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले आग्रह र पूर्वाग्रहबाट माथि उठेर देश जोगाउनका लागि सवै लाग्नुपर्ने बताए। उनले कोरोनाविरुद्धको लडाईंमा सरकार एक्लैले केही गर्न नसक्ने भन्दै सवैको सहयोगबाट मात्रै कोरोनाविरुद्धको लडाई जित्न सकिने बताए।
सो अवसरमा शहरीविकास राज्यमन्त्री रामवीर मानन्धरको समन्वयमा स्वास्थ्य मन्त्रालयलाई ३ सय थान तथा नेपाल भारत मानव मैत्री संघ का तर्फबाट सात सय थान पीपीई प्रदान गरिएको थियो। उक्त पीपीई बुझ्दै मन्त्री ढकालले संकटको घडीमा सानासाना सहयोगले पनि धेरैको ज्यान बचाउन सकिने बताए।
त्यसक्रममा मन्त्री ढकालले विश्व नै कोरोनाभाइरस विरुद्ध लडिरहेका बेला यसको लडाईमा अघिल्लो पंक्तिमा बसेर काम गर्ने चिकित्साकर्मीहरुको मनोवल बढाउन पनि यस्ता सुरक्षा सामग्रहीहरु उपलव्ध गराउन सरकारले प्रयास गरिरहेको बताए। उनले केहीसामग्रीहरु प्राप्त भएपनि कही सामग्रीहरु अझे ल्याउने काम गरेको बताए।
त्यस्तै उनले अभाव नै अभावका वीच पनि सरकारले सातै प्रदेशमा ल्याव विस्तार र कोरोना परीक्षण गर्ने काम गर्न सफल भएको बताए। उनले लकडाउनको अन्तिम अव्स्थामा रहेको भन्दै रोग फैलन नदिन सरकारले जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै कोरोनाविरुद्ध विजय हासिल गर्नुको विकल्प नभएकाले सवैको हातेमालो अनिवार्य भएको मन्त्री ढकालको भनाई छ। रासस


























