चितवन, चैत्र २२ । कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहदैनन्। सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले वढी सजग हुन सुझाव दिएका छन्।
भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताउछन्। उनले भने ‘गत वर्षहरुमा यो समयमा करिव २० जना हृदयरोगका विरामी उपचारका लागि आउने तथ्याङ्क छ। तर अहिले दुई जना पनि आउँदैनन्।’ टेलिफोन गरेर सोधपुछ गर्ने भए पनि रोग पालेर बसेका छन् की भन्ने चिन्ता हुन थालेको डा.अधिकारीको भनाई छ।
उनले घरमानै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक सम्भावित जटिल हुन सक्ने खालका विरामीलाई अस्पताल आउन आग्रह गरे। डा. अधिकारीले भने ‘अस्पताल आउनै पर्ने विरामीले डर मान्नुपर्दैन। उच्च जोखिमका रोग पालेर बस्नुहुँदै ।’
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गएको आठ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा ३ हजार ८२९ जना विभिन्न रोगका विरामीले सेवा लिएका थिए। ती मध्ये ८५० जना ज्वरोका र ६२ जना रुघाघोकिका रहेका थिए। गतवर्ष यतिवेला जिल्लाका अस्पतलाहरुमा ७ हजार भन्दा बढि विरामीले सेवा लिएका थिए।
जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, २ नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायिक इकाई रहेका छन्। प्रमुख तिवारीले घरबाटै चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने काम भइरहेको र अस्पताल आउन डर मानेर पनि विरामी नआएको हुन सक्ने बताउछन्।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल गतबर्ष यस समयमा दैनिक १ हजार ५ सय भन्दा वढि विरामी आउने गरेको भए पनि शुक्रबार १५० जना बिरामी मात्र आएको बताउछन्। त्यति नै सङ्ख्यामा बिरामी आउने चितवन मेडिकल कलेजमा शुक्रबार करिव एकसय जना मात्र विरामीले सेवा लिएका थिए।
कलेजका निर्देशक डा. दयाराम लम्सालले चिकित्सकले सेवा जारी राखेको जानकारी दिँदै लकडाउन पछि त विरामी नै आउन छाडेको बताउछन्। उनि जटिल रोगका बिरामीलाई घरमा नै रोग पालेर नबस्न आग्रह गर्छन्।
भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेले चिकित्सकले आफ्नो सेवा निरन्तर जारी राखेको बताउछन्। टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्कसंग आउन उनले आग्रह गरे।
नेपाल चिकित्सक सङघ चितवनका अध्यक्ष एवम् बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा पुराना रोगहरु मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम जस्ता समस्यामा सम्बन्धित चिकित्सकसंग परामर्श गरेर औषधि प्रयोग गर्न सुझाब दिन्छन्। दम बढ्यो, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने बताउछन्। ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरीया, स्क्रबटाईफस, हेपाटाईटिस जस्ता कारणले पनि हुने भएकाले कारणको खोजि गर्नु पर्ने उनको भनाई छ।
नेपाल पत्रकार महासङघका अध्यक्ष राधेश्याम खतिवडा भ्रमका कारण जोखिम बढेको बताउछन्। ‘बाहिर सर्बसाधारणमा चिकित्सकले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र ढोकाबाटै फर्काउँदछन्’ भन्ने हल्लाका कारण विरामी अस्पताल नआउने गरेको उनको भनाई छ।
जिल्लाभित्र उत्पादन भएका तरकारी बिक्री वितरण गर्न माग
जिल्लाको तरकारी तथा फलफूललाई नै बिक्री वितरणमा प्रवर्द्धन गर्न माग गरिएको छ। लकडाउनको समयमा पनि भारतबाट तरकारी लिएर सवारी साधन आइरहेका र त्यस्ता सवारी साधनले कोरोना भाइरसको सम्भावित जोखिम वढाएको भन्दै व्यवसायिले सो माग गरेका हुन्।
उद्योग बाणिज्य सङ्घका अध्यक्ष राजु श्रेष्ठले रातको समयमा दैनिक भारतीय तरकारी लिएर सवारी साधन आइरहेको जानकारी दिए। उनले ती साधनले कोरोनाको जोखिम बढाएको हुँदा जिल्लाकै कृषकले बारीमा फलाएको तरकारी बिक्रीको व्यवस्था मिलाउन माग गरे।
फलफुल तथा तरकारी थोक व्यवसायी सङ्घका अध्यक्ष मदन सापकोटाले भारतीय तरकारी रोक्ने र सामाजिक दूरी कायम गर्न स्थानीय प्रशासनले सहयोग गरेमा जिल्लाको तरकारी बिक्री गर्न सकिने बताए। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले भारतीय तरकारीका सवारी साधनलाई रोकिएको जानकारी दिए। रासस