पोखरा । नेपालमा कोरोना संक्रमण देखिएका ६ जनामध्ये दुईजना बागलुङ जिल्लाका नागरिक हुन्, जुन गण्डकी प्रदेशमा पर्छ। राजधानी बाहिर गण्डकी प्रदेशमा कोरोनाको संक्रमण देखिएपछि प्रदेश सरकारले कोरोना परीक्षणमा बढी तदारुकता देखाएको छ। गण्डकी प्रदेशको तथ्यांक हेर्दा हालसम्ममा ६१ जना बिरामीबाट कोरोनाको आशंकामा स्वाब परीक्षण गराइएको छ। तीमध्ये दुई जनामा मात्रै कोरोनाको संक्रमण पुष्टी भएको छ। संकलित नमूनामध्ये ४३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १६ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेशमा सबैभन्दा बढी प्रदेश मन्त्रालय भएकै जिल्ला कास्कीमा कोरोनाको आशंकामा नमूना संकलन स्वाब परीक्षण गरिएको छ। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालययअन्तर्गत स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार शुक्रबार साँझसम्ममा कास्की जिल्लामा मात्रै २७ जनामा कोरोनाको आशंकामा नमूना संकलन गरी स्वाब परीक्षण गराउँदा २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६ जनाको रिपोर्ट आउन बाँकी छ।
त्यसपछि सबैभन्दा धेरै बागलुङ जिल्लाका नागरिकको नमूना संकलन गरी स्वाब परीक्षण गरिएको छ। बालगुङ जिल्लाका १४ जनाको स्वाब परीक्षण गर्दा ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई जनाको रिपोर्ट आउन बाँकी छ। अन्य दुई जना भने कोरोना संक्रमणको पुष्टी भएपछि उपचाररत छन्। यस्तै स्याङ्जामा ८ जनाको परीक्षण गर्दा ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनाको रिपोर्ट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ।
तनहुँमा जम्मा एक जनाको मात्रै स्वाब परीक्षण गराएको थियो, जुन रिपोर्टमा नेगेटिभ आएको छ। लमजुङमा तीन जनाको स्वाब परीक्षण गर्दा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको छ। गोरखामा दुई जनाको परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ। पर्वतमा ४ जनाको स्वाब जाँच गर्दा चारैजनाको रिपोर्ट नेगेटिभ आएको छ। म्याग्दीमा दुई जनाको परीक्षण गर्दा एकजनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको आउन बाँकी छ। नवलपुर, मनाङ र मुस्ताङमा भने स्वास्थ्य परीक्षण गराइएको छैन।



























