चितवन, चैत्र २१ । भरतपुर महानगरपालिकामा पनि कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना हुने भएको छ। भरतपुर महानगरपालिकाको विशेष पहलमा चितवनमै नमुना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा ल्याउन लागेकाे हाे। राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गर्न लागिएको प्रयोगशालाबाट भोलि शनिबारदेखि परीक्षण थालिने महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन्।
उक्त प्रयाेगशाला स्थापना गर्न स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबारदेखि भरतपुरमै छन्। महानगर प्रमुख दाहालका अनुसार रामपुरबाट पिसिआर ल्याब र मन्त्रालयबाट एउटा बायोसेफ्टी क्याबिनेट झिकाइएको छ। एउटा क्याविनेट भने भरतपुरमै रहेको जनाइएको छ। परीक्षणका लागि दुईजना विज्ञ चितवनमै रहेका उनकाे भनाइ छ।
‘वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा मदन पाण्डे र चितवन मेडिकल कलेजका डा ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याइन लागेकाे हाे,’ उनले भनिन्। भरतपुरमै कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा आएपछि अस्पताल आएर स्वास्थ्य जाँच गर्नेहरुकाे नमुना संकलन गरेर बिरामीको नमुना दैनिक केन्द्रीय प्रयोगशालामा पठाउने गरेकाे थियाे।
दैनिक गाडीको प्रयोग गरेर पठाउनु पर्ने र नतिजा आउन ढिला हुँदा समस्या हुँदै आएपछि प्रयोगशाला यही स्थापना गर्न लागिएको दाहालले बताइन्। भरतपुरमा स्थापना भएपछि नेपालमा कोरोना परीक्षण प्रयोगशालाको संख्या ११ पुग्नेछ।