चैत्र १९ । बेलायतमा स्वास्थ्यकर्मीहरूलाई कोरोनाभाइरसबाट बच्नका लागि दाह्री खौरिन आदेश दिइएको छ।
चिकित्सक र नर्सहरूले सुरक्षा उपकरण लगाउनुपर्छ र उनीहरूलाई दाह्री खौरिन भनिएको छ। झ्याप्ले दाह्रीका कारण मास्कहरू फिट नहुने र राम्ररी काम नगर्ने बताइएको छ।
अहिले स्वास्थ्यकर्मीहरूले एफएफपी ३ मास्क लगाउनुपर्छ जसले नाक र मुखबाट ९९ प्रतिशत भाइरस रोक्छ। रोगीलाई जाँच्नुअघि चिकित्कसहरूले फिट हुन्छ हुँदैन भनी हेर्नुपर्छ।
दाह्रीले गर्दा मास्क राम्ररी सील नहुने र काम नगर्ने अवस्था आउँछ। अस्पताल प्रशासनले स्वास्थ्यकर्मीहरूलाई जोखिम हटाउनका लागि सफाचट भएर बस्न भन्नुपर्ने राष्ट्रिय स्वास्थ्य सेवाले जनाएको छ।
इप्स्विच अस्पतालका जनरल फिजिसियन डा.क्रेग शेरिडानले अस्पताल प्रवेश गर्नुअघि दाह्री काट्न लगाइएको बताए। एक दिनभन्दा बढीको दाह्री नराख्न भनिएको उनको भनाइ छ।


























