बेइजिङ, चैत्र १९ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोना भाइरस महामारीको अवस्था निश्चित मुलुकमा बाहेक अझै नियन्त्रण भन्दा टाढा रहेको बताएका छन्। कासाईले अहिले एसियामा देखिएको स्थिर अवस्था तथा केहीमा सामान्य सुधार अवस्थाको लाभ लिँदै देशहरूले आफ्ना समुदायमा कोरोना भाइरस थप फैलिन नदिन लागिपनुपर्नेमा जोड दिएका छन्।
अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एसियाली देशहरुले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिए। चीन, दक्षिण कोरिया, सिंगापुरलगायतका देशले कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका समयमा डब्लुएचओका अधिकारीको यो भनाई सार्वजनिक भएको हो।
चीनमा पछिल्ला केही सातायता नयाँ संक्रमण पुष्टि नगन्य मात्रामा छ। दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने संक्रमित संख्या बढ्दो क्रममा रहेको छ। चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्धहरू लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै संक्रमितको संख्या करिब ‘शून्य’ मा झरेको यहाँका अधिकारीहरूले बताउँदै आएका छन्।
यसैबीच, विश्व बैंकले पूर्वी एसियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ। विश्व बैंकको पछिल्लो पूर्वानुमान अनुसार भाइरसका कारण पूर्वी एसिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ। (रासस–सिन्ह्वा)


























