चितवन, चैत्र १७ । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन्।
सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै १५ कैदी छुटेका हुन्।
अदालतले एक वर्षसम्म कैद तोकेका उनीहरुले बाँकी अवधिको प्रतिदिन रु ३०० का दरले भुक्तान गरी छुट्न पाउने भएका हुन्। त्यसरी छुट्न पाउनेहरु यस कारागारमा ३८ जना रहेका छन्।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार एक वर्ष कैद तोकिएकामध्ये कैद किन्नका लागि २६ जनाले जिल्ला अदालत चितवनमा निवेदन दिएका छन्।
अन्यले पनि घर परिवारसँग सल्लाह गरिरहेको उनले जानकारी दिए। दुई सय २५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको कार्यालयमा हाल ७२७ कैदीबन्दी छन्। जसमध्ये ५६ महिला, ६७१ पुरुष र तीन आश्रित बालबालिका छन्।
Facebook Comments


























