चैत्र १७ । अमेरिकाको संघीय फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले विश्वकै प्रख्यात फर्मा तथा हेल्थ केयर कम्पनी एबटलाई कोरोना भाइरस संक्रमणको परीक्षणको विशेष पोर्टेबल किट उत्पादनको अनुमति दिएको छ। उक्त किटले परीक्षण गरेको पाँच मिनेटमा नतिजा समेत दिन्छ।
‘आइडी नाउ’ नाम दिइएको उक्त किटले कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा पाँच मिनेट र संक्रमण नदेखिएको नतिजा १३ मिनेटमा देखाउँछ।
यस विषयमा एबटको आधिकारिक वेबसाइटमा लेखिएको छ, ‘कोरोना संक्रमण परीक्षण विश्वव्यापी रुपमा सहज बनाउने हिसाबले काम गरिरहेका छौं। त्यसैले दिनरात नभनी सक्दो धेरै उत्पादनमा जोड दिएका छौं।’
एबटले बनाउँदै गरेको किटले एक दिनमा ५० हजार जनामा कोरोना भए/नभएको जाँच गर्नसक्ने प्रवक्ताले बताएका छन्। आउँदो सातासम्ममा अमेरिकाका अति आवश्यक ठाउँहरुमा यस किटद्वारा कोरोना जाँच हुने जनाइएको छ।
६.६ पाउन्ड हलुका यस किटबारे एबटका चिफ अपरेटिङ अफिसर रोबर्ट बी फोर्डले भनेका छन्, ‘कोभिड- १९ विरुद्ध लड्न यसले ठूलो मद्दत गर्छ। सक्दो धेरैको परीक्षण र समयमै आउने नतिजाका कारण उपचारमा ढिलासुस्ती हुँदैन।’
५ मिनेटमै नतिजा दिनसक्ने किटलाई भारतमा ल्याउने तयारी भइरहेको द इण्डियन एक्सप्रेसले जनाएको छ। ऐबर्टका प्रवक्ताले बढीभन्दा बढी उत्पादन गरेर विश्वभर निर्यात गरिने बताएका छन्। यद्यपि अहिले यो अमेरिकामा मात्र उपलब्ध छ।