काठमाडौं, चैत्र १७ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशव्यापी रूपमा लकडाउन गर्दा पनि २ अर्ब १४ करोड ९ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो गत मंगलबारदेखि शनिबारसम्म पाँच दिनमा भएको राजस्व संकलन हो। लकडाउनभन्दा अघिसम्म दैनिक रूपमा २ अर्बको हाराहारीमा राजस्व संकलन हुँदै आएको थियो।
अर्थ मन्त्रालयअन्तर्गतको कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत ९ चैतमा मात्रै २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। गत आइतबारसम्मको मात्र तुलना गर्ने हो भने लकडाउन अवधिमा संकलन भएको कुल रकम ६९ करोड ३५ लाख रुपैयाँले कम हो।
सरकारले लकडाउनमा व्यक्तिगत रूपमा आवतजावत र यातायात आवागमनमा रोक लगाए पनि आयात निर्यातमा भने रोकतोक लगाएको थिएन। यस कारण राजस्व उठेता पनि कम उठेको हो।
अर्थ मन्त्रालयका अनुसार लकडाउनको अघिल्लो दिन सोमबार १ अर्ब १३ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। सो दिन १ अर्ब ८ करोड ५३ लाख कर राजस्व उठेको थियो भने शिक्षा सेवा शुल्क र अन्य करबापत ७ करोड ६० लाख रुपैयाँ उठेको थियो।
लकडाउनको पहिलो दिन मंगलबार कुल ४१ करोड ८२ लाख रुपैयाँ मात्र राजस्व उठेको थियो। शिक्षा सेवा शुल्क र अन्यकर २ लाख रुपैयाँ मात्र उठेको थियो। त्यसपछिका दिनमा राजस्व कर र गैरकर राजस्व उठेता पनि शिक्षा सेवा शुल्क र अन्य कर ठप्प भएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत बुधबार सबैभन्दा कम अर्थात् १ करोड १३ लाख रुपैयाँ मात्र राजस्व उठेको थियो। सो दिन कर राजस्व १ करोड ९ लाख उठेको थियो भने गैरकर राजस्व ४ लाख रुपैयाँ उठेको थियो।
लकडाउनको अवधिमा सबैभन्दा बढी राजस्व उठेको दिन बिहीबार हो । सो दिन १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ कुल राजस्व उठेको थियो। सो दिन कर राजस्व १ करोड ४४ करोड ८४ लाख उठेको थियो भने गैरकर राजस्व ४ लाख रुपैयाँ मात्र उठेको थियो। शुक्रबार भने २ लाख गैरकर राजस्व र ५ करोड ५१ लाख राजस्व कर उठ्दा जम्मा राजस्व आम्दानी ५ करोड ५३ लाख पुगेको थियो।
शनिबार भने अन्य सामान्य दिनको जस्तै २ अर्ब ७३ लाख राजस्व उठेको थियो। शनिबार गैरकर राजस्व १ लाख मात्र उठेको थियो। अर्थ मन्त्रालयले भन्सार कार्यालयहरू, आन्तरिक राजस्व कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अत्यावश्यक सेवाभित्रै राखेर कम कर्मचारीबाट सञ्चालन गर्ने निर्णय लिएका कारण शनिवार ह्वात्तै राजस्व उठेको हो।
अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म अर्थात् शनिबारसम्म उठेको राजस्व सरकारको वार्षिक राजस्व लक्ष्यको ५० दशमलव ९२ प्रतिशत मात्रै हो। सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख राजस्व उठाउने लक्ष्य लिएको थियो। शनिबारसम्ममा ५ खर्ब ६६ अर्ब ३० करोड १९ लाख रुपैयाँ उठेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। जसमा कर राजस्व ५ खर्ब १६ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ रहेको छ। सरकारले यो शीर्षकमा ५१ दशमलव १९ प्रतिशत मात्रै उठाएको छ। यसमा सरकारको लक्ष्य १० खर्ब ९ अर्ब १६ करोड १८ लाख रुपैयाँ वार्षिक लक्ष्य रहेको छ। १ खर्ब २ अर्ब ८७ करोड १४ लाखको लक्ष्य रहेको गैरकर राजस्वमा पनि ४८ प्रतिशत मात्र राजस्व उठेको छ। ५० प्रतिशत मात्र राजस्व उठाएको सरकारले खर्च पनि सोही हाराहारीमा मात्र गरेको छ। सरकारले शनिबारसम्ममा ६ खर्ब १२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ मात्र कुल आम्दानी गरेकोे छ।
खर्चमा पनि निराशाजनक अवस्था रहेको छ। शनिबारसम्ममा कुल ४१ दशमलव ६१ प्रतिशत मात्र खर्च गरेको छ। पुँजीगत खर्च त झन् निराशाजनक छ। पुँजीगत खर्च २५ दशमलव ३९ प्रतिशत मात्र भएको छ। चालू खर्च भने ४८ प्रतिशत भएको छ।