चैत्र २७ । सिटीका मिडफिल्डर इल्के गुन्डोगानले कोरोना भाईरसको कारण प्रिमियर लिगको सिजन नसकिए उपाधि लिभरपुललाई दिनु पर्ने बताएका छन्।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ। कोरोनाको महामारी नियन्त्रण भन्दा बाहिर गईरहेको कारण बाँकी लिग खेल हुने नहुनेमा अन्योलता रहेको छ।
त्यसैले लिग नसकिए शीर्ष स्थानको हैसियतले उपाधि लिभरपुललाई दिनु उचित हुने गुन्डोगानको भनाई छ।
सिजन नसकिए उपाधि लिभरपुललाई दिनुपर्छ भन्ने प्रश्नमा गुन्डोगानले भने, ‘मेरो लागि यो ठिक छ । एक खेलाडीको रुपमा निष्पक्ष हुनुपर्छ।’
यस सिजन लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २५ अंकले अघि रहेको छ। र, यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ।
यस्तै २९ वर्षे जर्मन मिडफिल्डर गुन्डोगानले इटाली र जर्मनीका ठुला क्लबका खेलाडीको तलब कटौती राम्रो निर्णय भएको तर इंग्ल्यान्डमा यस विषयमा छलफल नभएको बताए।


























