चैत्र १५ । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ७ हजार १ सय ६६ नाघेको छ। अहिलेसम्म कोरोनाका कारण २७ हजार ६ सय ७४ जनाको ज्यान गएको छ भने १ लाख ३४ हजार २ सय ७९ जना उपचारपछि निको भएका छन्।
कोरोनाका कारण अमेरिका र युरोपेली देश बढी चपेटामा परेका छन्। अमेरिकामा मात्रै एक लाख ४ हजार दुई सय ५६ जना सङ्क्रमित भएका छन् भने १७ सय चार जनाको ज्यान गएको छ। यस्तै दुई हजार पाँच सय २५ जना उपचारपछि निको भएका छन्। अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै छ।
अमेरिकापछि इटलीमा सबैभन्दा धेरै अर्थात् ८६ हजार चार सय ९८ जना सङ्क्रमित भएका छन् भने ९ हजार एक सय ३४ जनाको ज्यान गएको छ। इटलीमा १० हजार ९ सय ५० जना उपचारपछि निको भएका छन्।
यस्तै चीनमा ८१ ह्जार तीन सय ९४ जना सङ्क्रमितमध्ये तीन हजार दुई सय ९५ जनाको ज्यान गएको छ भने ७४ हजार ९ सय ७१ जना उपचारपछि निको भएका छन्।
नेपालमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोमा एक जना उपचारपछि निको भएका छन् भने तीन जनाको उपचार भइरहेको छ।


























