काठमाडौं, चैत्र १५ । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित ९ माघमा परीक्षणबाट पत्ता लागेको हो। चीनबाट आएका नेपाली विद्यार्थीमा संक्रमण भेटिएपछि उनको उपचारपछि निको भएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल तीन व्यक्ति उपचार गराइरहेका छन्। ती मध्ये दुईजना टेकु अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छन्। अर्का व्यक्ति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन्। उनी फ्रान्सबाट नेपाल आएकी थिइन्। कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन्। उनलाई ९ चैत्रमा संक्रमण भएको खुलेको थियो। भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन्।
तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको १२ चैत्रमा पुष्टि भएको हो। उनी ६ चैत्रमा दुबईबाट आएका थिए। वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए। उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।
चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचाररत छन्। ३४ वर्षीय ती पुरुष दुबईबाट ७ चैत्रमा अगाडि फर्किएका हुन्। उनी वैदेशिक रोजगारीका लागि दुबई गएका युवक दुबईबाट दिल्ली काठमाडौं, नेपालगञ्ज हवाई मार्गबाट र त्यहाँबाट सडक मार्गबाट ८ चैत्रमा कैलाली पुगेको बुझिएको छ।
२२ पौषमा विश्वमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो। चीनको वुआनमा भाइरस पत्ता लागेपछि फैलन थालेको थियो। १६ माघमा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो। २८ फागुनमा यसलाई विश्वव्यापी महामारीका रुपमा वर्गीकरण गरिएको थियो।