चैत्र १५ । रुसले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने तयारी गरेको छ। सरकारले सबैलाई घरमा नै बस्न आग्रह गरिरहेको छ।
इटाली, स्पेनजस्ता मुलुकमा कोरोना भाइरसको महामारी नियन्त्रणबाहिर गइरहेको बेला रुसले भने पूर्व सावधानी अपनाएको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनले एक साताका लागि सबैलाई तलबी बिदा दिने निर्णय गरेका छन्। तर, स्वास्थ्य अवस्था अनुसार यो प्रतिबन्ध बढाउन सकिने बताइएको छ।
बीबीसीका अनुसार पुटिनले यो आगामी सातादेखि सबैलाई घरमा नै बस्न अनुरोध गरेसँगै मस्कोमा मास्क, स्यानिटाइजरजस्ता सामग्री किन्ने मानिसको संख्या पनि बढेको छ।
खाना तथा अन्य आवश्यक सेवाका क्षेत्रहरु भने खुला रहनेछन्।
रुसमा अहिलेसम्म संक्रमितको संख्या १ हजार ३६ जना पुगेको छ। अधिकांश संक्रमित राजधानी मस्कोमा भेटिएका छन्। साथै अहिलेसम्म चारजनाले ज्यान गुमाएका छन्।


























