चितवन, चैत्र १५ । खैरहनी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने विपन्न परिवारलाई राहत उपलव्ध गराउने भएको छ।
लकडाउनको समय लम्बिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले त्यस्ता परिवारहरूलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने भएको हो। खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीको अध्यक्षतामा शनिबार बसेको आपतकालीन वैठकले नगरभित्र त्यस्ता परिवारको तथ्यांक संकलन गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिइयो।
तथ्यांक संकलनपछि टोल विकास संस्थामार्फत खाद्यान्न उपलब्ध गराउने बैठकमा निर्णय गरिएको छ। परिवारमा रहेका सदस्य संख्याका आधारमा चामल, दाल, नुन, तेल र एक थान साबुन उपलब्ध गराइने मेयर चौधरीले बताए। नगरले वडालाई पठाउने र वडाले टोल विकास संस्थामार्फत ती खाद्यान्न वितरण गर्नेछ।
कुनै संघ–संस्था वा व्यक्तिले त्यस्ता परिवारलाई राहत उपलब्ध गराउन चाहे नगरमा सम्पर्क गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ। एकद्वार प्रणालीमार्फत राहत वितरण प्रभावकारी हुने भएकाले समन्वय गर्न आग्रह गरेको हो।
बैठकले दैनिक बजार अनुगमन गर्ने निर्णयसमेत गरेको छ। त्यसको जिम्मा सार्वजनिक क्षमता अभिवृद्धि तथा खरिद समिति संयोजक टीकादत्त इटनीको टोलीलाई दिइएको छ। समितिले नगरपालिका, इलाका प्रहरी कार्यालयसँगको समन्वयमा सर्वसुलभ तरिकाबाट सामान उपलव्ध भए÷नभएको, कृत्रिम अभाव सिर्जना गरे÷नगरेको अनुगमन गर्ने बताइएको छ।
यस्तै विदेशबाट आएका व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा बसे÷नबसेको, उनीहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर अनुगमन गर्ने निर्णय पनि गरेको छ। बैठकले कोरोना भाइरसको संक्रमण हुन नदिन नगरभित्र कीटनाशक विषादी छर्ने निर्णय पनि गरेको छ।