काठमाडौं, चैत्र १४ । नेपाल चिकित्सक संघले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। एक विज्ञप्ति जारी गर्दै संघले पिपिईका विषयमा जिम्मेवार निकायका उच्च व्यक्तिले हल्का टिप्पणी गरेको भन्दै दुःख व्यक्त गरेको छ।
यसअघि एक सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले भात पकाउँदा पनि पिपिई खोज्ने अवस्था आएको टिप्पणी गरेका थिए।
यसैबीच सबै अस्पताललाई सेवा सञ्चालन गर्न चिकित्सक संघले आग्रह गरेको छ। ओपिडी बाहेक आकस्मिक सेवा तथा ज्वरो क्लिनिक संचालन गर्न उसले आग्रह गरेको छ।
संघको विज्ञप्तिमा भनिएको छ ‘यस जोखिमपूर्ण अवस्थामा यो रोगलाई हामी सबै मिलेर नेपालमा फैलिनबाट रोकौं र आफ्नो जिम्मेवारी पुरा गरी असल एवं जिम्मेवार नागरिकको परिचय दिने अभियानमा सरिक हो औँ।’
नेपाल मेडिकल काउन्सिल तथा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेबमोजिम अनिवार्य रुपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षाका सामग्रीहरु उपलब्ध गराउन संघले सरकारसँग माग गरेको छ।