काठमाडौं, चैत्र १४ । बेस्सरी चुलिएपछि केही दिनयता डलरको भाउ फेरि घट्दो क्रममा लाग्न थालेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५५ पैसा तोकेको छ। यसअघि बिहीबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७२ पैसा थियो। यस हिसाबले बिहीबारको तुलनामा भाउ सामान्य घटेको देखिन्छ।
यस साताको पहिलो दिन आइतबार डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा केही महिनायता लगानीकर्ता अमेरिकी डलरमा लगानी गर्न आकर्षित भएका थिए। त्यस्तै अन्य देशका मुद्रा कमजोर हुँदा डलर सबल बनेको थियो। भारतीय मुद्रा कमजोर हुँदा नेपालमा पनि डलरको भाउ चुलिने गर्छ। किन भने भारतसँग हाम्रो स्थिर विनियमदर छ।
यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य घटेको छ। तर सुन र डलर भने माथि लागेका छन्। कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ। यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुन्।