न्योन, चैत्र १२ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण युईएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ।
कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले आगमी जुनलाई तय भएको युरोकप एक वर्षका लागि स्थगित गरिसकेको छ। च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानबुलमा मे ३० मा हुने तय थियो। युरोपा लिग २७ मेमा पोल्यान्डमा हुने तय थियो।
यस्तै, यूईएफएले वुमन च्याम्पियन्स लिगको फाइनलसमेत स्थगित गरेको जानकारी गराएको छ। सरोकारवाला पक्षबीचको बैठक विकल्पहरूको विश्लेषण गरेर निश्चित समयमा मिति घोषणा गर्ने यूईएफएले जनाएको छ। च्याम्पियन्स र युरोपा लिगको प्रि–क्वार्टर फाइनलको दोस्रो लिगको खेल सञ्चालन भइरहँदा कोरोनाका कारण प्रतियोगिता स्थगित गरिएको थियो।
गत साता स्पेनिस क्लब एट्लेटिको मड्रिडले डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब बोरुसिया डर्टमन्ड, इटालियन क्लब एटलान्टाले स्पेनिस क्लब भ्यालेन्सिया र जर्मन क्लब आरबी लाइप्जिगले इंग्लिस क्लब टोटेनहमलाई पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएको थियो।
प्रि–क्वार्टर फाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीले रियल मड्रिड, युभेन्ट्सले लियोन, बार्सिलोनाले नेपोली र बायर्न म्युनिखले चेल्सीसँग खेल्न बाँकी थियो।