बेजिङ, चैत्र १२ । चीनमा कोरोना भाइरस संक्रमणको स्थितिमा सुधार आएपछि आइतबारबाट फिल्म हल खुल्न थालेका छन्। त्रासका कारण दर्शकको उपस्थिति भने न्यून रहेको समाचार एजेन्सीले उल्लेख गरेका छन्। भीडभाडमा जाँदा कोरोना भाइरसको संक्रमणको जोखिम हुने डरले फिल्म हलमा गएर फिल्म हेर्न मानिस डराइरहेका छन्।
चीनमा आइतबारबाट ५ सय वटा फिल्म हल खुला गरिएको छ। लामो समयको होम क्वारेन्टाइनपछि दिक्क भएका नागरिकलाई सुरक्षित मनोरञ्जनका लागि फिल्म हल खुला गरिएको हल सञ्चालकले बताएका छन्। कोरोना संक्रमणको क्रममा बन्द भएका सिनेमा हलले अहिले पनि राम्ररी दर्शक पाएका छैनन्।
पछिल्ला दुई दिनमा चीनमा कोरोना संक्रमणको नयाँ बिरामी नदेखिए पनि चिनियाँ नागरिक अझै घरमै सुरक्षित छन्। यसकारण, कतिपय फिल्म हलमा एउटा पनि टिकट बिक्री भएको छैन। केही सिनेमा हलमा अत्यन्त न्यून दर्शक फिल्म हेर्न पुगेका छन्।
चीनमा व्यापार व्यवसाय सुरु भएको छ । सिनेमा हलमा दर्शक नआउनुमा कोरोना भाइरस मात्र नभएर नयाँ फिल्म रिलिज नहुनु पनि कारण रहेको त्यहाँका समीक्षकको कथन छ। कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिन थालेपछि हलिउडले आफ्ना सबै फिल्म रिलिज स्थगित गरेको छ।
चीनले पनि नयाँ फिल्म रिलिज गर्न सकेको छैन। हलिउडदेखि चिनियाँसमेतका नयाँ फिल्म हलमा नआएकाले दर्शक हलमा नगएका हुन्। कोरोना संक्रमणअघि रिलिज गरिएका फिल्म नै अहिले चीनका सिनेमा हलमा छन्। अब केही दिनमा नयाँ चिनियाँ फिल्म रिलिज हुने आशा गरिएको छ। त्यसपछि हलमा दर्शक आउने विश्वास निर्माता एवं हल सञ्चालकको छ।