चितवन, चैत ११ । गत चैत ४ गते फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको बिमानबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भयो। सोमबार ती युवतीमा कोरोना भएको पुष्टी भएपछि तत्काल सरकारले देशैभर लकडाउन गर्ने निर्णय गर्यो। यसअघि एक नेपालीमा कोरोना लागेको र उपचारपछि निको भइसकेको तथ्यांक छ। तर, दोस्रोपटक अर्को व्यक्तिमा कोरोना भाइरस देखिएपछि भने आमजनमानसमा थप त्रास फैलिएको छ।
अहिले ती युवती आएको विमानमा नेपाल आएका सबैको खोजी गर्नुपर्ने भन्दै जनस्तरबाट पनि आवाज उठिरहेका बेला नेपाल प्रहरीले १२५ जना नेपालीको ठोगाना पत्ता लागेको दाबी गरेको छ। सरकारले पनि ती युवतीसँगै एउटै विमानमा नेपाल आएका यात्रुलाई अस्पतालको सम्पर्कमा आउन आग्रह गरिसकेको छ। साथै परिवारलाई पनि ‘होम क्वारेन्टाइन’ बस्न भनिसकेका बेला प्रहरीले ती यात्रुहरूको खोजी गरेका हुन्। देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारेन्टाइनजस्ता थप सतर्कता अपनाउन आफूले मातहतका निकायलाई पत्राचार गरिसकेको जानकारी गराएको छ।
प्रहरीका अनुसार त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए। ती युवती नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले जानकारी दिए। ‘फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ,’ उनले भने।
ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइ पनि सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीसँग सुरक्षित रहेको उनले बताए। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको जानकारी दिए। फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया ती युवतीलाई कोरोना भाइरस सङ्क्रमण देखिएको सोमबार स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी गराएका थिए।
कतार एअरवेजको उक्त जहाजबाट आएका १५८ यात्रुमध्ये १२५ जनाको घरको ठेगाना पत्ता लागे पनि बाँकी यात्रुको भने पत्रा लगाउन सकेको छैन। ‘बाँकी यात्रुको ठेगाना पत्ता लगाउने क्रममा छौँ,’ प्रहरी प्रवक्ता थापाले भने, घरको ठेगानामा स्थानीय प्रहरी पठाएर उनीहरूको अवस्था के छ त्यो हेर्छौँ र क्वारेन्टाइनमा बस्न र थप सतर्कता अपनाउन भनिरहेका छौँ।’ ती सबै यात्रुको स्वास्थ्य परीक्षण स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा यथाशीघ्र गरिने उनले बताए।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गराउँदा हालसम्म दुईजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको कोभिड–१९ अहिले १८७ वटा देश र क्षेत्रमा फैलिसकेको छ। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट इटली र चीनमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। त्यसपछि स्पेन, इरान र अमेरिकामा धेरै मानिसको ज्यान गएको छ। (बीबीसीको सहयोगमा)

























