चितवन, चैत ११ । पटक–पटक वक्तव्य दिँदै ओलम्पिक तोकिएको समयमा सञ्चालन हुने बताइए पनि आयोजक राष्ट्र जापान र अन्तर्राष्ट्रिय ओलम्पिक समिति यसलाई १ वर्षको लागि रोक्न तयार भएको छ। ओलम्पिकमा सहभागी हुने राष्ट्रहरू क्यानडा र अस्ट्रेलियाले यस वर्षको ओलम्पिकमा सहभागी नहुने घोषणा गरेसँगै आयोजकलाई खेल स्थगित गर्न दबाब परेको थियो।
विश्वव्यापी रूपमा संकट पैदा गरिरहेको कोरोना भाइरसको कारण विश्व यतिबेला ठप्पप्रायः छ। यसको संक्रमण फैलिन नदिनको लागि विश्वभरका अधिकांश देशहरूले ‘लकडाउन’ तथा ‘कर्फ्यू’सम्मको घोषणा गरिरहेको बेला आयोजक राष्ट्र जापानले बारम्बार खेल तोकिएकै समयमा आयोजना हुने भन्नु कत्तिको सहज र उचित होला भन्ने प्रश्न उब्जिरहेको अवस्थामा भर्खरै मात्र पत्रकार सम्मेलन गरि खेल स्थगित गरिएको बताइएको छ।
जापानका प्रधानमन्त्री सिन्जो आवेले आफू र ओलम्पिक समिति यो खेल स्थगित गर्न राजी भएको जनाएका छन्। ‘यसबाट खेलाडीहरूलाई उत्कृष्ट वातावरणमा खेल्नको लागि सम्भव बनाउनेछ र समग्र कार्यक्रम पनि स्वच्छ र सुरक्षित बन्नेछ,’ जापानी प्रधानमन्त्री आवेले भनेका छन्।
तोकिएकै समयमा खेल आयोजना गर्न जापानले व्यापक तयारी गरिरहेको थियो। खेल यही जुलाई २४ देखि जापानमा शुरू हुँदै थियो।