चितवन, चैत ११ । जनताको स्वास्थ्य सुरक्षाको लागि सरकारले गरेको ‘लकडाउन’मा अटेर गरि बाहिर निस्किएका आठसयभन्दा बढी मोटरसाइकललाई मंगलबार चितवन प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर छाडेको छ। आफ्नै लागि सरकारले लकडाउन गरे पनि कार्यान्वयन नगरेका सवारीसाधनलाई नियन्त्रणमा लिएर सचेत गराएर छाडेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मंगलबार पहिलो दिन कारवाहीमा धेरै सवारीसाधन परेकाले बुधबारदेखि यो क्रम घट्न सक्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टको आंकलन छ। ‘भोलिदेखि हामी कडाई गर्छौैँ,’ उनले भने, ‘आज जस्तो छूट भोलि हुँदैन।’
लकडाउनपछि जिल्लामा करिब दुई दर्जन चेक प्वाइन्टमार्फत प्रहरीले निगरानी राखेर काम गरिरहेको उनले बताए।
सातजना कारवाहीमा
लकडाउनको निर्देशन पालना नगर्ने सात जनालाई आज चितवन प्रशासनले स्थानीय प्रशासन ऐन–२०२८ बमोजिम कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले लकडाउन उल्लंघन गर्नेहरुलाई जनही एक हजार रुपैयाँ जरिवाना गरी छाडिएको बताए। भोलिदेखि थप कडाई गरिने प्रशासनले जनाएको छ।
आफ्नै लागि सरकारले गरेको कार्यलाई पूर्णरूपमा पालना गरिदिन पनि जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ। ‘सरकारले जारी गरेको लकडाउन हामी आफ्नै लागि हो, त्यसैले अबको एक हप्तासम्म सबैले घरभित्रै बसेर यसलाई कार्यान्वयन गरिदिनुहोला,’ उनको आग्रह छ।

























