बाँके, चैत्र ९ । नेपालगन्ज नाका एक साताका लागि सिल गरिएको छ। आइतबार नेपाल र भारतीय सुरक्षा निकायका प्रमुखको बैठकले नाका एक साताका लागि बन्द गर्ने समहमति गरेको हो।
कोरोना भाइरसको संक्रमण दुवै देशमा बढ्न नदिन सीमा नाका बन्द गरिएको बाँके प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। ‘अति आवश्यक कामबाहेक हिँड्डुलसमेत रोक लगाइएको छ,’ उनले भने।
बिरामी बोकेका एम्बुलेन्स, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्यान्न तथा मालसामान ढुवानीका लागि प्रयोग भएका कन्टेनर, पेट्रोलियम पदार्थ बोकेका गाडी सञ्चालनमा कुनै रोक नभएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए।
हाललाई एकसाताका लागि सीमा सिल गरिए पनि आवश्यक परे समय थप गर्न सकिने प्रमुख जिल्ला अधिकारी खड्काले बताए। नेपालगन्ज नाकामा शुक्रबारदेखि सवारीसाधन आउजाउमा रोक लगाएको प्रशासनले आइतबारदेखि आवागमनमा समेत पूर्ण रुपमा रोक लगाएको छ।
‘नेपालतर्फमात्र नभई भारततर्फ पनि पूर्ण रुपमा बन्द गरिएको छ,’ एसपी ओलीले भने, ‘दुवै देशको सहमतिबमोजिम दुवैतर्फको आवागमन बन्द गरिएको हो।’ प्रशासनको अभियानमा साथ दिन नेपालगन्ज उद्योग वाणिज्य संघले पनि पसल, उद्योग, कलकारखाना, व्यापार, ब्यवसाय बन्द गर्न सवैसँग अपिल गरेको छ। तर, नेपालगन्जका आंशिक पसल मात्र बन्द भएका छन्।
त्रिभुवन चोक, धम्बोझी, बिपी चोक, सदरलाइन, न्युरोडलगायत स्थानका पसल आंशिक रुपमा बन्द भएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काको अध्यक्षतामा शनिबार बसेको कोरोना पूर्वतयारीका लागि गठित जिल्लास्तरीय टास्क फोर्सको बैठकले बजार, कलकारखाना, उद्योग बन्द गर्ने निर्णय गरेको थियो।


























