काठमाडौं, चैत्र ९ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबारबाट पासपोर्ट जारी गर्न बन्द गरेको छ। तर ‘अत्यावश्यक सेवा’भित्र पर्ने पासपोर्ट भने पुष्टि हुने कागजातका आधारमा जारी गर्ने जनाएको छ।
कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत ९ गते देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेपछि विभागले पासपोर्ट जारी गर्ने कार्य बन्द गरेको हो।
‘कोरोना भाइरसका कारण हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राखी अत्यावश्यक सेवाका लागि मात्र विभाग खुला रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ विभागद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।
विभागले विदेशमा गई उपचार गराउनुपर्ने भएमा नेपाल मेडिकल काउन्सिलको सिफारिस अनुसार पासपोर्ट दिने जनाएको छ।
यसअघि नै भिसाको लागि आवेदन दिई हालः अन्तर्वार्ताको लागि पासपोर्ट भएको, विदेशमा अध्ययन गर्नको लागि विश्विद्यालय तथा क्याम्पसमा भर्ना भएका र छात्रवृत्तिका लागि आवेदन पेस गर्न पासपोर्ट आवश्यक भएकाहरुलाई पनि नयाँ पासपोर्ट दिन नरोकिने विभागले जनाएको छ।
यस्तै, टोफेल-आइइएलटिएस लगायतको परीक्षाको डेट लिन पासपोर्ट आवश्यक भएमा पनि विभागले राहदानी दिनेछ। कसैले टिकट लिइसकेको तर उसको पासपोर्ट बिग्रेको, पासपोर्टको पाना सकिएको, म्याद सकिन लागेको, पासपोर्ट हराएको र श्रम स्वीकृति प्राप्त भइसकेकाहरुको हकमा पनि नयाँ पासपोर्ट जारी गरिने विभागले स्पष्ट पारेको छ।
‘अत्यावश्यक सेवा लिनै पर्ने भएमा सोको पुष्टि हुने कागजातसहित विभागमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ,’ विभागले विज्ञप्तिमा भनेको छ। सामान्य प्रयोजनको लागि भने नयाँ पासपोर्ट जारी नगरिने विभागले बताएको छ।


























