काठमाडौं, चैत्र ८ । नेपाली काँग्रेसले चैत्र मसान्तसम्मलाई पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ।
काँग्रेसले फागुन १६ गतेबाट समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण थालेको थियो। शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा यसलाई स्थगन गरेर कोरोना सचेतना अभियानमा थप सक्रियता जनाउने उल्लेख छ।
काँग्रेसले यसअघि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पार्टीका ठुला भेला र सम्मेलनहरु स्थगित गरिएको भए पनि क्रियाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन कार्य जारी राखेको थियो।
पछिल्लो समयमा कोरोनाको जोखिमबाट बढ्दै गएकोले सतर्कताका लागि चैत ९ देखि लागू हुनेगरी क्रियाशिल सदस्यता नवीकरण र वितरण चैत मसान्तसम्मका लागि स्थगित गरिएको शर्माले जानकारी दिए।
उनका अनुसार शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घर–घरसम्म कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशीलता सतर्कतापूर्वक विविध ढंगले जारी रहनेछ।


























