काठमाडौं, चैत ६ । विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण रोक्न जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ। भोलि शुक्रबारदेखि नै चिडियाखाना बन्द गर्न लागेको हो। ‘कोरोना भाइरसको डरले बन्द गर्न बाध्य भएका हौँ,’ चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले भने। उनका अनुसार चिडियाखानामा हरेक दिन तीन हजार अवलोकनकर्ताले अवलोकनका गर्दै आएका थिए।
अवलोकनको लागि बन्द गरेपनि जीवजनावरको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन्। हरेक दिन चिडियाखाना बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरेको थियो। हाल चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका २०० विद्यालयका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन्।
११९ प्रजातिका एक हजार ९८ वटा जीवजनावर रहेको चिडियाखानामा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन्। तीमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा कम हुँदै गएको खुला स्थान र जीवजनावर हेर्ने चाहनाका कारण अवलोककर्तामा कुनै कमी नआएको उनले बताए।


























