काठमाडौं, चैत्र ६ । अमेरिकाले नोभल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट नेपाली जनतालाई सुरक्षित राख्न थप १८ लाख डलर (करिब २१ करोड २४ लाख रुपैयाँ) नेपाललाई दिएको छ।
कोरोना भाइरस सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन थप १८ लाख डलर सहयोग दिने निर्णय भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
‘यो रकम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सङ्क्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्चित कोषको एक हिस्सा हो,’ दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कूल रकममध्येको झन्डै ११ लाख डलर कोभिड–१९ को रोकथामबारेमा समुदायलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारीविरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न प्रयोग हुनेछ।’
बाँकी ७ लाख डलरले विश्व स्वास्थ्य सङ्गठनमार्फत कार्यान्वयन भएका हाल जारी तयारी तथा प्रतिकार्य क्रियाकलापहरूलाई सहयोग पुग्ने दूतावासले जनाएको छ।
यो रकम २०७६ फागुन २३ गते अमेरिकी सरकारद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएका व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को अतिरिक्त हो।


























